भरतपुरमा दाहालको अग्रता कायमै बढ्यो भोट प्रतिशत

 स्थानीय निर्वाचन २०७९     ५ जेष्ठ २०७९, बिहीबार १२:१३     394 जनाले पढ़िसके



Spread the love

चितवन — भरतपुर महानगरपालिकामा ४० हजार मत गनेर सकिँदा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतासँगै मत प्रतिशत पनि बढाएकी छन् । महानगरको ४० हजार ९ सय ६३ मत गणना हुँदा दाहालले ३८ प्रतिशतको हाराहारीमा मत ल्याएकी छन् ।

२० हजार मत गनेर सकिँदा उनलाई ३३ प्रतिशत र उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई ३२ प्रतिशत मत आएको थियो ।

अहिले सुवेदीलाई ३० प्रतिशतको हाराहारीमा मत आएको छ । मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २० हजार गणना हुँदा १६ प्रतिशतको हाराहारीमा र अहिले पनि १५ प्रतिशतको हाराहारीमा मत ल्याएका छन् । अहिले भरतपुरमा वडा नम्बर १० को मत गणना भइरहेको छ । मेयरमा रेनु दाहालको १५ हजार ५ सय १३, विजय सुवेदीको १२ हजार ३ सय ८७ र जगन्नाथ पौडेलले ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका चित्रसेन अधिकारीको १७ हजार ९ सय ७० र एमालेको समर्थन रहेको राप्रपाकी उम्मेदवार हिमला गुरुङको ९ हजार ९६१ मत आएको छ । कुल २९ वटा वडाहरु रहेको भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । रेनु दहालले वडा नम्बर ५ पछि फराकिलो मतान्तर कायम गरेकी छन् । गणना हुँदै गरेको वडा नम्बर १० सहित गणना हुने क्रममा रहेका ११ र १२ नम्बर वडामा पहिलाको निर्वचनमा एमालेका उम्मेदवारहरूले राम्रो मत पाउने गरेका थिए ।