टेलिकमकै मान्छे कार्यकारी नियुक्त हुनुपर्ने माग राख्दै एनटिसिमा चर्कियाे आन्दोलन

 संवाददाता    २३ चैत्र २०७८, बुधबार १२:४४     151 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रबन्ध निर्देशक (एमडी) नियुक्तिको प्रक्रियालाई लिएर नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा कर्मचारीहरुले विरोध आन्दोलन शुरु गरेका छन् । टेलिकममा काम गरेको, कम्पनीबारे ज्ञान र अनुभव भएकै व्यक्तिलाई एमडी नियुक्त गर्नुपर्ने भन्दै विरोध शुरु भएको हो ।नेपाल टेलिकमको एमडी नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका नै फेरेर राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सुनील पौडेललाई एमडी बनाउन खोजेको भन्दै कर्मचारीहरुले विरोध थालेका हुन् ।

टेलिकमभित्रकै ट्रेड युनियन नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्ल्यूयू) ले कुनै शक्तिकेन्द्रको निर्देशन वा प्रभावमा नपरी टेलिकममा प्रबन्ध निर्देशक नियुक्त गर्नुपर्ने अन्यथा कडा कदम चाल्ने चेतावनी यसअघि नै दिएको थियो ।

र पनि कयौं अनियमितताको काण्डमा विवादित सुनील पौडेललाई नै जनताको नासो र सम्पत्ति बराबर भएको नेपाल टेलिकममा ल्याउन खोजेको भन्दै आफूहरुले विरोध गरिरहेको टेलिकमका एक अधिकारीले बताएका छन् ।

वर्कर्स युनियन पूर्व महासचिव सुरेश रौनियारले आर्थिक चलखेल गर्ने उद्देश्यले कुनै पनि हालतमा बाहिरी संस्थाबाट आएकालाई एमडी नियुक्ति हुन नदिने चेतावनी दिएका छन् ।

टेलिकममा वर्षौं काम गरेका र अनुभवी, योग्य व्यक्ति हुँदा हुँदै स्वार्थनिहीत ढंगले बाहिरि मान्छे हाल्न खोजेमा आफूहरुले झनै चर्को आन्दोलन थाल्ने चेतावनी रौनियारले दिएका छन् ।