‘फोरजी’ ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिन्यो

 संवाददाता    १५ कार्तिक २०७८, सोमबार ११:५७     106 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – चौथो पुस्ताको नेटवर्क अर्थात् ‘फोरजी’ का ग्राहक सङ्ख्यामा नेपाल टेलिकमले एनसेललाई उछिनेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार फोरजी ग्राहकमा एनसेलभन्दा झन्डै पाँच लाख धेरै ग्राहकसहित नेपाल टेलिकम पहिलो नम्बरमा पुगेको छ ।

साउनसम्म टेलिकमका ५३ लाख ४० हजार फोरजी ग्राहक रहेकामा भदौमा नौ लाख २७ हजार ६ सय जना ग्राहक थपिएपछि टेलिकमको फोरजी ग्राहक सङ्ख्या ६२ लाख ६८ हजार ३९ पुगेको छ ।
यस्तै साउनमा एनसेलका ५५ लाख ११ हजार फोरजी ग्राहक रहेकामा भदौमा दुई लाख ४३ हजार थपिएर ५७ लाख २५ हजार जना पुगेको छ ।

यस्तै प्राधिकरणका अनुसार अहिलेसम्म भ्वाइस सेवाका ग्राहक चार करोड आठ लाख नौ हजार जना पुगेका छन् । नेपालको जनसङ्ख्या तीन करोड दुई लाख जनालाई आधार मान्दा एक सय ३५ प्रतिशत जनसङ्ख्यामा भ्वाइस सेवा पुगेको छ ।

साथै इन्टरनेट सेवाका ग्राहकको सङ्ख्या तीन करोड ३४ लाख ५८ हजार पुगेको छ । यसमध्ये साढे दुई करोडभन्दा धेरै मोबाइल इन्टरनेट सेवाका ग्राहक रहेका छन् भने ७० लाख ७० हजार इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहक रहेका छन् ।