टेलिकमको कर्मचारी आन्दोलन स्थगित

 संवाददाता    १४ भाद्र २०७८, सोमबार १४:१६     170 जनाले पढ़िसके



Spread the love

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन स्थगित भएको छ । टेलिकम व्यवस्थापनविरुद्ध कर्मचारीले साउन ५ गतेदेखि सुरु गरेको उक्त आन्दोलन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको पहलमा २१ बुँदे सहमति पछि स्थगति भएको हो ।

उक्त सम्झौतामा कम्पनीको ११ तहमा पाँच वर्ष र १० तहमा आठ वर्षको सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने पुरानै व्यवस्था कम्पनीको कर्मचारी विनियमावली २०७८ मा कायम हुने गरी संशोधनका लागि लोक सेवा आयोगमा लेखी पठाउने सहमति भएको छ । साथै कर्मचारीहरुले कम्पनीको खस्किँदो आम्दानी वृद्धि गर्न आगामी तीन महिनाभित्र व्यावसायिक रणनीति तथा कार्ययोजना बनाइ लागूसमेत गर्न व्यवस्थापनसँग सहमति गरेको छ ।
यसबााहेक चालू आवमा फोरजी एलटीई आयोजनाको बाह्य तेस्रो पक्षीय तथा आन्तरिक स्रोतबाट प्राविधिक तथा कार्यसम्पादन परिक्षण गर्न सहमति भएको छ ।
लिज लाइन सेवाका वितरण तथा लेखाङ्कनलाई व्यवस्थित तथा थप प्रभावकारी बनाउन लिज लाइन अटोमेसन एलएलए सिस्टम, लिज लाइन बिलिङ एलएलबी सिस्टम र लिज लाइन सर्भे एलएलएस सिस्टमहरुलाई समायोजना गरी तीन महिनाभित्र सञ्चालनमा ल्याउने सहमति भएको छ ।